वैशाख १४ देखि कक्षा १२ परीक्षा सुरु : बोर्डले सार्वजनिक गर्‍यो तालिका, अनुपस्थितलाई दोस्रो मौका नहुने

 काठमाडौँ । यस वर्षको कक्षा १२ को परीक्षा आउँदो वैशाख १४ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले साधारण, परम्परागत तथा प्राविधिक विषय समूहअन्तर्गत नयाँ तथा पुरानो पाठ्यक्रम र ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको हो।
परीक्षा नियन्त्रक कार्यालयका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको नयाँ तथा पुरानो पाठ्यक्रम र ग्रेड वृद्धि परीक्षासमेत सञ्चालन गरिने तालिकामा उल्लेख छ।
सोही दिन नयाँ पाठ्यक्रमअन्तर्गत संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो पाठ्यक्रमअन्तर्गत अनिवार्य वैकल्पिक संस्कृत रचनाको परीक्षा पनि हुने बोर्डले जनाएको छ।
बोर्डका अनुसार वैशाख २७ गतेसम्म सञ्चालन हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था गरिने छैन। साथै, तालिकाभित्र कुनै आकस्मिक बिदा परे पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाबिना परीक्षा स्थगित नगरिने स्पष्ट गरिएको छ।
यस वर्ष नियमिततर्फ करिब तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने अनुमान गरिएको छ। गत वर्ष नियमिततर्फ तीन लाख ९६ हजार ३४७ र आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
गत वर्षको कक्षा १२ परीक्षा वैशाख २१ गतेदेखि सुरु भई जेठ २ गते सम्पन्न भएको थियो।
परीक्षाको तयारीमा जुटेका विद्यार्थीहरूका लागि बोर्डको यो तालिका निर्णायक हुने देखिएको छ।

प्रतििक्रया दिनुहोस

सम्बन्धति समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.