काठमाडौँ। आउँदो आइतबार मुम्बईको वानखेड़े स्टेडियममा हुने नेपाल र इङ्ल्याण्डबीचको खेल सामान्य अन्तर्राष्ट्रिय खेल होइन, यो क्रिकेट विश्वकपको ठूला मञ्चमा नेपाली उपस्थितिको ऐतिहासिक क्षण हो। खेल सुरु हुनुअघि नै ३३ हजार दर्शक अट्ने वानखेड़े स्टेडियमका सबै टिकट बिक्री भई ‘सोल्ड आउट’ भएका छन्।
विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगितामा नेपालले खेल्दै गर्दा स्टेडियम भरिनु केवल समर्थकको उत्साह मात्र होइन, यो नेपाली क्रिकेटको बढ्दो हैसियतको प्रमाण हो। नेपाली जर्सी, झण्डा र नाराले वानखेड़े आइतबार नेपाली रंगमा रंगिने निश्चित छ।
जित–हार जे भए पनि, विश्वकपको मञ्चमै नेपालले विश्व क्रिकेटलाई स्पष्ट सन्देश दिँदैछ—
नेपाली क्रिकेट अब सानो नाम होइन।
सीमित पूर्वाधार, न्यून अवसर र निरन्तर उपेक्षाका बाबजुद विश्वकपको खेलमै दर्शक तान्न सफल हुनु अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) का लागि समेत गम्भीर सन्देश बनेको छ। क्रिकेट विश्लेषकहरू भन्छन्, “विश्वकपमा नेपाल खेल्दा स्टेडियम सोल्ड आउट हुनु आफैंमा उपलब्धि हो, यसले भविष्यको बाटो देखाएको छ।”
आइतबार वानखेड़ेमा मैदानमा २२ खेलाडी उत्रिँदा केवल एक खेल मात्र हुने छैन, नेपाली क्रिकेटको आत्मविश्वास विश्वकपको केन्द्रमा उत्रिनेछ।
अब प्रश्न विश्व क्रिकेटतर्फ फर्किएको छ—
नेपाली क्रिकेटलाई अझै कति समय नजरअन्दाज गरिने?



